मुख्य दोषी ओली कि प्रचण्ड ? यो तथ्य पढनोस

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक २९, शनिबार १३:००
काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक तनावले सरकारका काम कारवाहीलाई पनि प्रभावित पारिरहेको छ । सम्पूर्ण राष्ट्र विकासका केन्द्रित हुनुपर्नेमा पार्टीका एकजना अध्यक्षले नेतृत्व गरेको सरकारलाई अर्का अध्यक्षले असफल पार्ने प्रयास गरिरहनु भएको छ ।

वास्तवमा कमजोरी कसमा छ ? केपी शर्मा ओलीमा छ कि पुष्पकमल दाहाल प्रचण्डमा छ ? अहिलेको समस्यामा मुख्य दोषी को हो ? यसमा कार्यकर्ता र नागरिकको चासो छ । ओलीले सरकारको नेतृत्व गरेदेखि यता भएका घटनाक्रम, प्रवृति आदीलाई हेर्दा पार्टीको अहिलेको समस्याका मुल दोषी प्रचण्ड नै हो, ओली होइनन भन्ने प्रष्ट हुन्छ । त्यसमाथि अध्यक्ष प्रचण्डले सचिवालयमा प्रस्तावका नाममा पोख्नुभएको कुण्ठाले त उहाँ नेकपा बिभाजन गरी बिदेसीलाई सेवा गर्न उत्कट चाहनाका साथ लाग्नुभएको प्रष्ट पारेको छ ।

कसरी ? हेर्नुहोस २२ कारण 

१. अस्थिर, अराजनीतिक र अवसरवादी

प्रचण्ड अस्थिर नेता हुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा एउटा सहमति गर्नुहुन्छ र कोटेश्वरहुँदै खुमलटार पुग्दा उक्त निर्णयबाट पछि हट्नु हुन्छ । पछिपछि पहिला नै खुमलटार र कोटेश्वरमा भेला गरी त्यो निश्कर्ष बोकेर वालुवाटार पुग्नुभयो । जव व्यक्तिको आफ्नो अडान, निर्णय र कन्भिक्सन हुँदैन, त्यो राजनीतिक हुँदैन । प्रचण्ड नेता हुनुभयो तर राजनीतिक नेता हुनसक्नु भएन ।

२. कार्यकारी अध्यक्ष होइन, गुटको नेता

प्रचण्डलाई उहाँले मागे बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष बनाउनुभयो । कार्यकारीले सिंगो पार्टी संचालनमा केन्द्रित हुनुपर्ने हो । तर प्रचण्ड कार्यकारी अध्यक्ष हुन सक्नुभएन, गुटको संयोजक मात्र बन्नुभयो ।

३. दलालहरुको घेरा

प्रचण्ड पहिलानै दलालहरुको घेरामा पर्नुभयो । काठमाडौं उहाँको आफ्नो घर छैन, तर उहाँलाई घर दिनेहरुको कमी छैन । अहिले उहाँ बस्नुभएको घर बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीको हो । अधिकारी सडक ठेक्कादेखि मलकाण्डमा सम्ममा कालोसूचीमा परेका ठेकेदार हुन । त्यस्ता धेरै ठेकेदार र दलालहरु प्रचण्डको वरीपरी छन् ।

४. कार्यकर्ता होइन, आफन्त र नाता पहिला

प्रचण्डको राजनीतिको केन्द्रमा पार्टीका कार्यकर्ता छैनन, आफन्त छन् । उहाँ अयोग्य र असक्षम हुँदाहुँदै पनि आफन्तलाई पद र प्रतिष्ठा दिलाउन दिलोज्यान दिएर लाग्नुहुन्छ । उहाँको सचिवालयको रसायन हेर्दा त्यो थाहा हुन्छ । छोरी र बुहारीका प्रगति हेर्दा थाहा हुन्छ ।

५. प्रधानमन्त्रीको काममा हस्तक्षेप

प्रधानमन्त्रीले सरकार संचालन गर्ने र प्रचण्डले पार्टीमा ध्यान दिने सहमति हो । तर प्रचण्ड पार्टीका गर्नुपर्ने काम केही गर्नुहुन्न, खाली सरकारवारे मात्र सोच्नुहुन्छ । उहाँको ध्यान वालुवाटारमा बढी छ, धुम्वाराहीतिर कम छ । मन्त्री छान्ने अन्तिम अधिकारी प्रधानमन्त्री हो । तर प्रचण्ड त्यो मान्न तयार हुनुहुन्न । र, सरकारको काममा भाँजो हाल्नुहुन्छ । त्यत्तिमात्रै होइन, सचिवालयमा रहेका नेताहरुलाई समेत अपमानपुर्वक हटाउन उहाँको जोड रहेको छ ।

६. जनमतको गलत ब्याख्या

नेकपाले बहुमत ल्याउनुमा ओली र प्रचण्डको पनि योगदान छ । तर मुल्त एमालेप्रतिको बिश्वास हो । व्यक्तिका रुपमा ओलीप्रतिको आकर्षण हो । ओलीलाई प्रधानमन्त्रीका रुपमा प्राजेक्ट गरेपछि पाएको जनमत हो । प्रचण्डले यो स्विकार गर्नसक्नुभएन । ओली र प्रचण्ड बराबरी हैसियतका नेता होइनन् । उहाँको यही परिवारमोह र शक्ति आर्जनका लागि जे पनि गर्ने शैलीकै कारण नेकपा माओवादी त्यो तहमा बिभाजन भएको तथ्य अहिले बुझ्न सकिन्छ ।

७. ओलीबिरुद्ध गुटबन्दी

प्रचण्डले बिभिन्न प्रलोभन देखाएर पूर्वएमालेका केही नेताहरुलाई झुटो कुरा लगाएर प्रयोग गर्न खोज्नुभएको छ । र ती नेताहरु नजानिंदो रुपमा प्रयोग भइरहेका छन् । ती र आफ्ना गुटक नेता प्रयोग गरेर ओलीको मानमर्दन गर्ने काम प्रचण्डबाट भइरहेको छ ।

८. नियुक्तिमा बखेडा

मुख्य राजनीतिक नियुक्तिमा छलफल भएका छन । मन्त्री प्रचण्डका छन्, राजदूत प्रचण्डका छन् । यत्तिसम्म कि प्रचण्डले कांग्रेसलाई भोट हालेको जान्दाजन्दै नेकपामा प्रवेश गराएर भतिजलाई अष्ट्रेलियाको राजदुत बनाउनु भयो । यस्ता सवै नियुक्तिमा परिवारबाहेक अरुको हक छैन भन्ने प्रचण्डको मान्यता छ । प्रचण्डका मन्त्रीले आफ्ना मन्त्रालय अन्तगर्त नियुक्त गरेका छन् । सरकार संचालन सहज बनाउन प्रधानमन्त्रीले गर्ने कतिपय नियुक्तिमा प्रचण्डले अवरोधमात्र गर्नुभएको छ । नियुक्तिमा बखेडा झिक्नु प्रचण्डको प्रवृति भइसक्यो ।

९. कर्णाली प्रदेशको घटना

कर्णाली प्रदेशमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा त्यसमा प्रचण्ड र माधव नेपाल नजिकका सांसदले पनि हस्ताक्षर गरे । आफूलाई नसोधि प्रस्ताव ल्याएको र त्यो गलत भएको प्रधानमन्त्रीले बताउनुभयो । तर प्रचण्डले एउटा गल्तीमाथि अर्को गल्ती गर्न उकासेको तथ्य बाहिर आइसकेको छ ।

१०. भारतीय खुफियासँगको अपारदर्शी सम्वन्ध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेका हुन् । सीमा लगायतका बिषयमा संवाद गर्न बिभिन्न च्यानल प्रयोग हुन्छन् । प्रचण्ड र बाबुराम आफैं रअका अधिकारीसँगको सम्पर्कबाट भारतीय संस्थापनसम्म पुग्नुभएको हो । प्रधान सेनापति प्रकरणमा कटवाललाई बर्खास्त गर्नुअघि भारतीय सल्लाह मागेको तर नपाएको उहाँले नै बताउनु भएको हो ।

११. राष्ट्रवादी होइन, लम्पसारवादी

प्रचण्ड राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन । उनी सत्तामा पुग्न जस्ता पनि कम्प्रोमाइज गर्छन् । नौमहिने ओली सरकार उनले दक्षिणकै सहयोगमा ढालेका थिए । अहिले पनि ओलीबाट भन्दा आफूबाट भारतले लाभ लिनसक्ने सन्देश उनले बिभिन्न दूतमार्फ्त भारतीय संस्थापनसँग पुर्याएका छन् ।

१२. नयाँ नक्सा जारी र भूमिफिर्ताको मिसनमा अवरोध

प्रधानमन्त्री ओलीको नेतृत्वमा लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेको नक्सा अद्यावधिक भएको हो । त्यस बमोजिम जमिन फिर्ता ल्याउ लागिरहेका बेला प्रचण्ड सरकारलाई बिस्थापितको प्रयासमा लाग्नुभएको हो । वार्तामा बसेर प्रमाणसहित भूमि फिर्ता ल्याउने प्रयासलाई सफल हुन नदिने क्रियाकलाप प्रचण्डबाट भइरहेका छन् ।

१३. तथ्यभन्दा हल्लामा विश्वास गर्नु

प्रचण्डका हरेक बिरोधमा तथ्य कम र भड्काव बढी छ । निर्वाचनमा आयोगमा कसैले नेकपा एमाले दर्ता गर्यो, तर प्रचण्डले ओलीमाथि दोष लगाउनुभयो । जो व्यक्ति आफैं पहिलो अध्यक्ष छ प्रधानमन्त्री छ, उसलाई अर्को पार्टी किन चाहिन्छ ?

१४. विकास र समृद्धिप्रति चासो नहुनु

प्रचण्डलाई देशको विकास र समृद्धिमा चासो छैन । नेकपाका अध्यक्षका रुपमा प्रचण्डले प्रधानमन्त्रीलाई विकास र समृद्धिका लागि कसरी सहयोग गर्नुभयो ? विकासको वहसमा कहाँ भाग लिनुभयो, विकासको उहाँको सोच के हो ? कहाँ सार्वजनिक भयो ? सत्तावाहेक उहाँले केही हेरेको देखिदैंन ।

१५. चाकरहरुको खोजी

प्रचण्ड आफ्नो चाकडी गर्नेलाई मात्र महत्वपूर्ण जिम्मेवारी दिन उद्यत हुन्छन् । उनीप्रति आलोचकीय दृष्टिकोण गर्नेलाई उनी मन पराउँदैनन् । पार्टीका इमान्दार कार्यकर्ताले नियुक्ति अवसर पाएनन् तर अवसरवादीले पाए । पछिल्लो समय पार्टी एकताम सहयोग गरेका नेतालाई मन्त्री बनाउने प्रस्ताव राख्दा प्रचण्ड मानेनन् । किनकी उनी जसरी ओली हटाउन चाहन्थे, तर ती सदस्यले त्यो गल्ती हुने बताएर जोड्न सहयोग गरे ।

१६. भ्रमको खेती, प्रोपोगान्डिस्ट

प्रचण्डले ओलीबिरुद्ध चौतर्फी आक्रमण गरेका हुन् । तर ती असफल भए । किनकी तिनमा प्रमाण थिएनन्, तथ्य थिएनन्, आग्रहमात्र थिए । यति र ओम्नीको बिषय खुव उचाले तर तीनमा कुनै नीतिगत वा भ्रष्टाचारजन्य कार्य भएको थिएन । ओम्नीले फटाई गर्यो, यही सरकारले कारवाही गर्यो । यतिलाई नियम विपरित सरकारले कुनै फेभर गरेको छैन । प्रचण्डकै घरबेटी ठेकेदारसमेत कारवाहीमा परेका छन् ।

१७. आफैंप्रति अविश्वास

मानिसले अरु जे भएपनि आफूलाई विश्वास गर्नुपर्छ । जव आफूप्रति विश्वास छैनभने देशले र नागरिकले उसलाई कसरी बिश्वास गर्न सक्छन । प्रचण्ड जहिले पनि तनावमा देखिन्छन्, शंका र उपशंकामा रहन्छन् । आफ्ना कमजोरी नहुने व्यक्तिले यति धेरै अस्थिर बन्नुपर्दैन । म गछुृ, सक्छु र मिलाउँछु भन्ने सोच उहाँमा देखिदैंन ।

१८. संकिर्णता र शास्त्रीय सोच

प्रचण्ड तीन दशकबढी देखि पार्टी प्रमुख छन् । उनी कसैलाई नतृत्व हस्तास्तरण गर्न चाहँदैनन् र प्रतिस्पर्धा गर्न चाहनेलाई लखेट्छन् । बाबुराम, मोहन बैद्य र बिप्लव उदारण हुन । ओलीलाई उनी सक्दैनन् किनकी हैसियत नै सानो छ । जीवनशैली र व्यवहारमा नवउदारवादी र नवसामन्त जस्ता छन् तर बिचारमा अझै पनि सकिर्ण । त्यहीभएर अहिले पनि शास्त्रीय साम्यवादको पुरातन प्रयास गर्छन् ।

१९. शक्ति र सामथ्र्य बुझ्न नसक्ने

पार्टी एकता गर्दाको हैसियत प्रचण्डले बिर्सेको देखिन्छ । एमाले ठूलो र एमाओवादी सानो पार्टी हो । ओलीको सदासयताले थप हैसियत पाएका हुन । तर शक्तिमा उनी कमजोर छन् । सानो पार्टीको अध्यक्षले ठूलो पार्टीको अध्यक्षलाई संचालन गर्छु भन्ने सोच नपालेको राम्रो । त्यसैपनि ओली प्रभावशाली नेता हुन, त्यसमा पनि पहिलो अध्यक्ष र प्रधानमन्त्री । ओलीलाई वाइपास गरेर केही गर्छु भन्नु दुस्साहस हो ।

२०. नीति र व्यवहारमा असन्तुलित

प्रचण्ड नीति र व्यवहारमा अत्यन्तै असन्तुलित नेता हुन । विदेश नीतिमा उनी कहिले भारतका विरोधी र कहिले हितौषी भए । चीनका विश्वासी पनि भए र चीनले चरम अविश्वास पनि गर्यो । उनी अमेरिका र पश्चिमालाई शत्रु मान्छन् तर फेरी तिनैले उचालेको जातीय पहिचानका प्रवद्र्धक समेत बने । अहिले एमसीसीमा उनी वेलावेला बिरोधी र बेलाबेला समर्थक बन्छन् । सरकारको विरोध गर्न अहिले पनि बिरोधी भएका हुन्, त्यसको कन्टेन्टका कारण होइन ।

२१. बैचारिक अस्पष्टता

प्रचण्डका बैचारिक प्रष्टता छैन । त्यसो भएपछि व्यक्ति पेण्डुलम बन्छ । उनी मदन भण्डारीद्वारा प्रतिपादित जनताको वहुदलीय जनवादलाई मान्छु भन्न सक्दैनन् । जनताको जनवाद के हो, शायद उनले पनि बुझेका छैनन् । उनी जवजको धारको नेतृत्व गर्ने ओलीसँगको यात्रामा छन् । ओली भावी यात्रामा प्रष्ट छन्, प्रचण्ड छैनन् ।

२२. पछिल्लो पुस्ताप्रति अविश्वास

प्रचण्ड आफु पछिको पुस्तामा राजनीतिक नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । ओली चाहान्छन्, जसको उद्घोष उनले गरिसकेका छन् । अझैपनि आफूले मात्र प्रधानमन्त्री, अध्यक्ष चलाउनुपर्छ भन्ने ठान्छन् । यो अराजक र तानाशाही सोच हो । यी मूल समस्या हुन प्रचण्डका । यो सुची लामो हुनसक्छ । चुपचाप ओली सरकारलाई सहयोग गर्दा प्रचण्डको फेरी नेतृत्वको मौका पाउन सक्छन् । नत्रभए राजनीतिले अर्को बाटो लिनसक्छ् । सचिवालयमा उहाँले राख्नुभएको बिषयले त उहाँ नांगै हुनुभएको छ । अव नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पनि पक्कै बुझ्नुभयो होला ।

जनता टाइम्स अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाको सचिवालय बैठक सकियो, प्रचण्डको प्रस्तावको विरुद्ध ओलीको पनि प्रस्ताव

२०७७ कार्तिक २९, शनिबार १३:००
काठमाडौं रसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने जानकारी गराउनुभएको छ । बैठक मंसिर १३ गते बस्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसैगरी मंसिर १८ गते […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.