प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड

खबरखोज सम्वाददाता   ।   २०७८ असार २३, बुधबार १३:०८

कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा गर्न वार्षिक करिब ७० करोड बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ३५ करोड मात्रै बजेट प्रस्ताव गरेको छ ।

प्रादेशिक रंगशाला निर्माणका लागी उक्त बजेट निकै न्यून भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल बताउँछन् । ‘हामीले ६० करोडमाथि नै माग गरेका थियौं । तर मन्त्रालयबाट ३५ करोड मात्रै प्रस्ताव भएको छ,’ उनले भने । बजेट पर्याप्त नभए पनि आयोजना शुरु गर्नैपर्ने बाध्यता रहेको सन्ज्यालको भनाइ छ ।

२०८० सालमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुँदैछ । प्रदेशमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न कर्णाली सरकारका साथै यस क्षेत्रका खेलाडी र खेलकुदप्रेमीहरु उत्साहित छन् ।

कर्णालीमा एउटा स्तरीय रंगशाला नहुँदा प्रदेश र जिल्ला स्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन् । खेलाडीहरूले पनि खुला चौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ ।

यही आवश्यकतालाई ध्यानमा राखी प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला बनाउने योजना अगाडि सारिएको छ । प्रतियोगिताका लागि महत्वपूर्ण मानिएको उक्त रंगशाला निर्माणका लागि साउनभित्रै टेन्डर हुने सामाजिक विकास मन्त्री यज्ञबहादुर बीसीले बताए ।

संघीय सरकारले २०७५ सालमै सातै प्रदेशमा एक÷एक रंगशाला निर्माणको घोषणा गरे पनि कर्णालीमा खेलकुद पूर्वाधार निर्माण हुन सकेको थिएन । उक्त आयोजनालाई कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको छ ।

२०८० सालभित्रै रंगशाला निर्माण गर्ने सरकारी लक्ष्य पूरा गर्न पर्याप्त बजेट र काममा तदारुकता देखाउन आवश्यक छ । तर प्रदेश सरकारले भने आयोजनाका लागि बजेट विनियोजनमा कन्जुस्याइँ गरेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलकुद पूर्वाधार निर्माण गरिने सदस्य सचिव सन्ज्याल बताउँछन् । ‘मास्टर प्लान तयार छ, साउनको पहिलो साताभित्र टेन्डर गछौं, दुई वर्षभित्र रंगशाला निर्माण भइसक्नेछ,’ उनले भने । सरकारले उपलब्ध गराउने बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्नुको विकल्प नभएको सन्ज्यालकोे भनाइ छ ।

वीरेन्द्रनगरमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्न सक्ने क्षमताको हुनेछ । योसँगै अन्तर्राष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कबर्ड हल पनि निर्माण गरिने छ ।

सरोकारवाला भन्छन् बजेट पर्याप्त छैन

कर्णाली प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षका लागि कुल ५९ करोड बजेट विनियोजन गरेको छ । त्यसमध्ये पूर्वाधार निर्माणका लागि मात्रै ४५ करोड प्रस्ताव गरिएको छ ।

प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड प्रस्ताव गरिएको छ ।

झट्ट हेर्दा बजेटको आकार ठूलो देखिए पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि यो पर्याप्त नभएको कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्की बताउँछन् । ‘कर्णालीका खेल संरचना शून्य छ, राष्ट्रिय प्रतियोगता सञ्चालन योग्य संरचना निर्माण गर्न सम्पूर्ण बजेट पूर्वाधार निर्माणमा खर्चे पनि कमै हुन्छ,’ उनले भने ।

उनले थपे, ‘एउटा मात्रै बहुउपयोगी रंगाशाला बनाउन अर्बौं बजेट चाहिन्छ ।’ राष्ट्रिय स्तरका खेल प्रतियोगिताका लागि बनाइने हरेक संरचना दीर्घकालीन प्रयोगमा ल्याउन मिल्ने गरी निर्माण गरिनुपर्ने उनले बताए ।

पछिल्लो तीन वर्षमा खेल संरचना निर्माणका लागि संघ र प्रदेश सरकारले छुट्याएको २२ करोड बजेट फ्रिज गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाइटीका राष्ट्रपति होभिनेल मोइजको बुधबार बिहानै गाेली हानी हत्या

२०७८ असार २३, बुधबार १३:०८
उत्तर अमेरिकी राष्ट्र हाइटीका राष्ट्रपति होभिनेल मोइजको बुधबार बिहानै हत्या भएको छ। हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ। राजधानीको बाहिरी भागमा रहेको पोर्ट–अउ–प्रिन्सस्थित निजी निवासमै राष्ट्रपति मोइजको बुधबार बिहान १ बजे हत्या भएको त्यहाँका प्रधानमन्त्री क्लाउडे जोसेपले बताएका हुन्। प्रधानमन्त्रीले निकालेको विज्ञप्तीमा हत्याको पुष्टि गरिएता पनि कसले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.