देउवा–प्रचण्ड–माधवको प्रतिबद्धता : चुनावपछि पनि गठबन्धन सरकार

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक १, मंगलवार १८:०६

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार खडा गरेका छन् ।

गठबन्धनको तर्फबाट मंगलबार सार्वजनिक साझा प्रतिवद्धतामा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र हस्ताक्षर गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भने हस्ताक्षर गरेका छैनन् ।

संविधानको मर्म विपरीत गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुख (केपी शर्मा ओली)को स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको नेताहरुले बताएका छन् ।

उनीहरुले आसन्न आम निर्वाचनलाई भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको भन्दै उनीहरुले संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन् ।

आगामी निर्वाचनपछि बन्ने सरकारले जनताको समृद्धिको आकांक्षालाई बिना आलटाल सम्बोधन गर्ने भन्दै शीर्ष नेताहरुले गठबन्धनको प्राथमिकता प्रष्ट पारेका छन् ।कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्युनीकरण गर्न आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धन र जलविद्युतजस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको भन्दै साझा प्रतिवद्धता पत्रमा भनिएको छ, ‘यसका लागि पर्याप्त निजी, सहकारी एवम् सार्वजनिक लगानी बृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ ।’

यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकता हुने उनीहरुले बताएका छन् । नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्ने भन्दै प्रतिवद्धता पत्रमा भनिएको छ, ‘द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौतालाई नेपालको राष्ट्रिय स्वार्थ अनुरुप गर्न गठबन्धन सरकार प्रयत्नशील रहने छ ।’

साझा प्रतिवद्धता विस्तारित रुप पार्टीगत घोषणापत्रमा ल्याउने कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का आह्वान

२०७९ कार्तिक १, मंगलवार १८:०६
चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । ५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.