नेता कमरेडहरु फेरि ती दिन नआउन -चित्रसिंह गाउँले

चित्रसिंह गाउँले   ।   २०७७ मंसिर २१, आईतवार ११:४४

 चित्रसिंह गाउँले

२०६३ साल मंसिरमा तत्कालीन एमाले कालिकोटको आयोजनामा हामीले हाल महावै गाउँ पालिका वडा नं – ३ मा पर्ने डाँडाखलामा विशाल आमसभा सम्पन्न गरेका थियौं । दशवर्षे माओवादी विद्रोहका कारण गाउँमा अन्य पार्टीका गतिविधि हुन नपाएकोमा एमालेको आयोजनामा लामो समयपछि गरिएको कार्यक्रम थियो त्यो । एमाले जिल्ला स्तरका नेताहरुका दृष्टिकोण सुन्न जनसमुदायको व्यापक उपस्थिति रहेको त्यो कार्यक्रम समापन हुनासाथ मञ्चमा लफडाबाजी भयो । हाल कर्णाली प्रदेशसभामा (नेकपा)संसदीय दलका सचेतक एवम् तत्कालीन एमाले कालिकोटका उप सचिव कुर्मराज शाही प्रमुख अतिथि रहेको कार्यक्रम समापन पश्चात् कार्यक्रममा बोलिएका विषयलाई लिएर तत्कालीन माओवादी नेताहरुले छलफलको माग गरेर लफडा सुरु गरेका थिए । हाल नेकपा कालिकोटका जिल्ला कमिटी सदस्य पदमबहादुर सिंहले तत्कालीन माओवादी पक्षबाट कार्यक्रम सकिएपछि विशेषगरी मञ्चमा मैले र प्रमुख अतिथिले बोलेका शब्दलाई लिएर हामी आयोजकले प्रयोग गरेको माइक समाउदै छलफल गर्न खोजेकोमा हामीले छलफलमा जानै खोजेनौं र छलफल सामान्य विवादमै सिमित हुन पुग्यो । कार्यक्रम सकेर हामी नाराबाजी सहित गाउँमा प्रवेश गरेर तत्कालीन एमालेको गाउँ कमिटी गठन गरेका थियौं । यस्ता सयौं उदाहरणका बिच कालिकोटमै पार्टीका कार्यक्रमहरु गर्दै संगठन बिस्तार गरिए । तत्कालीन एमालेको मात्रै नभइ माओवादी पक्षका कार्यक्रम भइरहँदा एमाले पक्षबाट अवरोध समेत नभएका होइनन् । यधपी कालिकोटमा सशस्त्र द्वन्द्वकालमा माओवादी पक्षको मजबुत उपस्थितिका कारण एमाले पक्षबाट कार्यक्रममा उतिधेरै अवरोध भने भएन । मैले यो एउटा सामान्य उदाहरण सहित हामी बिगतमा कुन अवस्थामा थियौं भन्ने संकेत मात्रै दिन खोजेको हुँ ।

 गठबन्धन सहित एकताको प्रभाव
   देशभरका अन्य जिल्लाको तुलनामा बामपंथी गठबन्धन हुँदै पार्टी एकताले अत्यन्तै राम्रो प्रभाव कर्णाली प्रदेशमा पारेको हो । यस्तै सकारात्मक प्रभाव सुदूरपश्चिम प्रदेशमा र यसैगरी अन्य प्रदेशहुँदै देशभरमा पनि पर्यो नै । प्रतिस्पर्धामा रहेका दुई तत्कालीन जिम्मेवार पार्टी बिचको टक्करले घरघरमा पुगेको पानी बाराबारको अवस्था गठबन्धन हुँदै एकतासम्म पुग्दा सौहार्दतामा प्रवेश गरेकै हो । स्थानीय तह निर्वाचनको बेला त कतिपय पालिकामा अघोषित रुपमा नेतृत्वको टाउकाको मोलमोलाइ गर्न समेत पछि नपरेका तत्कालीन एमाले/माओवादी नेता तथा कार्यकर्तामा गठबन्धन हुँदै एकताको विषयले मेलमिलापको वातावरण बनाउन सकेकै हो । पार्टीका कार्यकर्ता हुँदै शुभेच्छुकहरुमा समेत बढेको शत्रुता हटाउनमा एकताले साथ दियो । एकता नभएको भए विगतको वैचारिक र भावनात्मक द्वन्द्वका कारण तत्कालीन एमाले र माओवादी पक्ष बिचका सयौं झगडाका केसहरु यतिबेला पनि कैयौं मेलमिलाप र कैयौं प्रहरी प्रशासन र अदालतमा देख्नुपर्ने हुने थियोे । एकताको कारण जन्ति,मलामी र खेतीपातीका काममा सहयोग गर्न समेत टरेका छरछिमेक र व्यक्ति एवम् परिवार बिचका सम्बन्धमा सुधार आयो । यधपी पछिल्लो चरण कर्णाली प्रदेश सरकार बन्ने विषयदेखि हाल केन्द्र पार्टीको विवादको असर कर्णालीमा अझँ धेरै पर्न पुगेको छ ।
  केन्द्र नेतृत्वले फैलाएको चिन्ता र असर
  दुई पार्टी बिचको एकताका गतिविधि एकताको सुरु समयमा तिब्र रुपमा अघि बढ्न खोजेकै हुन् । कमिटी एकतामा ठोस बिधि बन्न नसक्दा समय लिएकोमा मापदण्ड बन्नासाथ धमाधम कमिटी बने । प्रदेश हुँदै जिल्ला भएर स्थानीय तह हुँदै सेल कमिटीसम्म पनि एकताको काम सुरु भएकै हुन् । ३ महिनामा सक्ने भनिएको एकता प्रक्रियाले २ वर्ष नाघ्दासम्म पनि अन्तिम रुप लिन नसक्दा समेत कार्यकर्ता लेवलमा खासै वितृष्णा जागिसकेको अवस्था थिएन । पार्टी केन्द्र नेतृत्वमा टकरावका संकेत देखिन थालेपछि तर्सिन थालेका पार्टी कार्यकर्ता र शुभचिन्तकहरुमा भदौ २६ को स्थायी समितिले फेरि उत्साहको सन्देश दिन सफलता पाएकै हो । देशभरमा तत्कालीन पार्टीका पार्टी सदस्य अधावधिक गर्दै महाधिवेशन र अधिवेशन केन्द्रित हुने रहर पलाउन थालेकै हो । ठिक यो अवस्थामा पार्टीले निर्णय गरेर दिएको म्याण्डेट विशेषगरी पार्टी नेतृत्व गर्ने दुई अध्यक्ष बाटै उल्लंघन हुन पुगि पछिल्लो समयमा प्रतिवेदनको नाम दिएर चलेका टक्करबाजीले फेरि देशभरका कार्यकर्तामा नैराश्यता बाँढेको छ । जसको कारण प्रतिपक्षी कांग्रेस देशका कुनाकुनामा प्रवेश गरेर यो अस्थिरता र कलहको ब्याज असुल्न थालेको छ । कांग्रेस मात्रै नभइ दुलामा पसेका राजावादीहरु फेरि राष्ट्रिय झण्डा समाएर राष्ट्रवादका हिमायती आफुमात्रै हौं र राष्ट्रिय झण्डानै आफ्नो स्वार्थसिद्ध गर्ने साधन हो ठानेर ब्युझिने प्रयासमा छन् । अब फेरि संघ,प्रदेश र स्थानीय चुनाव नजिकिँदै गरेको विषयलाई पनि आत्मसात गर्दै तल्लो तहका कार्यकर्ताहरु संगठन बिस्तारमा कुद्न थाल्दै गरेकोमा केन्द्रका गतिविधिले खुट्टाहरु लुला बनाउनुका साथै मुखमा बुझो हाल्ने काम गर्न थालेको आभास भएको छ ।
  विवेक फर्काउ केन्द्र नेताहरु
  पार्टीको चिन्ता जसरी तल्लो तहका नेता/कार्यकर्ताले गरिरहेका छन् यसको तुलनामा माथिल्लो तहमा बढी चिन्ता हुनुपर्ने हो । घरको मुल अभिभावकले झगडा गर्ने र अन्य परिवारका सदस्यले मिलाइदिनुपर्ने परिपाटी (नेकपा)मा सुरु भएको छ । हावाहुरीले फेदमा बसेकालाई भन्दा ठूलो असर टुप्पो र हाँगामा बसेकालाई नै बढी पर्छ । यतिबेला पार्टीमा देखिएको विवादले सैद्धान्तिक रुप लिएकै छैन । व्यक्ति व्यक्तिका आफ्ना स्वार्थका कारण विवाद बल्झाउनु कम्युनिस्ट पार्टीका लागि उपयुक्त होइन । हामी विचारमा कम्युनिस्ट र व्यबहारमा विचारहिनहरुका रुपमा अघि बढ्न थाल्दैछौं भने ठूलो चिन्ता यही हो । आफु र आफ्ना समुह बलियो बनाउने अभियान थालेर पार्टी कमजोर बनाउने काम छोड्नुनै पार्टी हितमा छ । पहिलो चरणमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले ल्याएको अध्यादेश प्रकरण फिर्ता भएर पार्टी बिभाजन बाट रोकिएर ठिक भयो । अहिले फेरि नयाँ शीराबाट प्रतिवेदनका नाममा केन्द्र नेतृत्वले पार्टी लाई भड्कालोमा जाक्ने संकेत देखिदैछ । यतिबेला त्यागका शब्दावली सुनिदैछन् । मेरो विचारमा कसैले पार्टी अध्यक्ष र प्रधानमन्त्री त्याग गर्नु र कसैले प्राप्त गर्नुपर्ने विषयलाई ठूलो त्याग र उपलब्धिका रुपमा लिन आवश्यक छैन । यधपी पार्टी भित्र समस्या समाधानका लागि पदीय भागबन्डानै प्रमुख विषय बनाइ सकिएको स्थित छ । यस्तो बेलामा आफ्ना व्यक्तिगत पद र सुविधा भन्दापनि देश,जनता र पार्टीको चिन्तालाई प्रधान विषय बनाउन सकेको देखिदैन । सुविधाका जिम्मेवारीमा पुगेकाले आफुलाई शक्तिमा पाउदा मौका भनेको यही हो ठान्दै जताततै कब्जामा नीति अवलम्बन गर्ने र अलि कमजोर अवस्थाको आँकलन गरेकाहरुले फेरि आफ्ना लागि अवसर आउदैन सम्झिदै आफ्नै सहयोद्धाको खुट्टा तान्ने प्रवृत्तिले पार्टी मात्रै कमजोर हुने अवस्था रहदैन । यस बेलामा अब नेतृत्वको विवेक फर्किनै पर्छ । उहाँहरूलाई अग्लो स्थानमा राखिएको भनेको पार्टीमा कतै समस्या आउँदा समाधान देलान,टाढैबाट कालो वादल आइरहेको भए सजग गराउलान्,पार्टीमा दिनप्रतिदिन रातो लालीकिरण छाउने काम गर्नु होला भनेर हो । अब अबेर गर्दै अल्झिदै पद्धति विपरित चल्नेकाम नेकपामा मुलीहरुबाट जम्मै नहोस् भन्नेनै हाम्रो शुभेच्छा हो ।
  यी विषय नभुलौ
  जनताले नेकपालाई दिएको जिम्मेवारी भनेको देश बनाउने जिम्मेवारी हो । पार्टी एकता २००७ सालदेखि देशमा बिधमान अस्थिरताको दीर्घकालीन रुपमा अन्त्यका लागि हो । यो एकताबाट देशभरका देशभक्त र श्रमजीवीहरुले कम अपेक्षा राखेका छैनन् । ठिक यही समयमा एक पक्षले आफुलाई एकतर्फी सरकार चलाउन दिएनन् भनेर उफ्रिने र अर्कोथरीले हाम्रो त कुनै सुनुवाइ छैन भनेर झ्याली पिट्दै हिड्ने समय होइन । अब यसको मध्यमार्गी र ठोस निदान तर्फ लागौं । पार्टीलाई एकताबद्ध बनाएर कोरोना महामारीको कारण डुब्दै गरेको देशको अर्थतन्त्रलाई उकालो हिडाउने प्रयास गरौँ । अहिलेपनि कालापानीमा भारतीय सुरक्षा फौज छ । लिपुलेकसहितको नक्सा त सरकारले सार्वजनिक गर्यो तर भारतले अझैसम्म भूमि फिर्ता गरेको छैन । निर्वाचनताका जनताको बिचमा गरिएका बाचाहरु पुरा हुन सकिरहेका छैनन् । बिभाजनले केही व्यक्तिहरु बिभाजित पार्टीका ठूला जिम्मेवारी त पाउलान् तर अहिले नेकपाको साथमा जुनजुन् जिम्मेवारी छन् ती सबै गुमेर जानुको विकल्प छैन । नेकपा मात्रै नभएर सिंगो देश समेत कमजोर बन्ने गरी बुढेसकालमा पार्टी नेतृत्वले विवेक नगुमावस् । विगतमा पार्टी निर्मनका लागि भोगेका जेल,नेल र खाएका गोलीहरु सम्झिदै यो उमेरमा गलत कदम चालेर लाखौं कार्यकर्ता,हजारौं सहिद र बेपत्ता आत्माहरुको श्रापको भारी बोकेर हिड्नुपर्ने अवस्था नआवस् शुभेच्छा ।
                                                                                                                                                                                                   लेखक नेकपा कालिकोटका युवा नेता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक

२०७७ मंसिर २१, आईतवार ११:४४
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.