किर्ते कागजपत्रबाट १५ लाखको अनियमितता

  ।   २०७७ श्रावण ८, बिहीबार १०:२६

कालीकोटको नरहरिनाथ गाउँपालिका-८ मा किर्ते कागजपत्र बनाएर १५ लाख रुपैयाँको अनियमितता गरेको पाइएको छ।

वडामा बाटो निर्माण, खानेपानी योजना मर्मतसम्भारलगायत सवारीसाधन खरिदका लागि किर्ते कागजपत्र बनाई अनियमितता गरेको पाइएको हो ।

नरहरिनाथ गाउँपालिका-८ वडा सदस्य रमेश विष्टले भने, ‘हामीलाई जानकारी नै नदिई किर्ते माइन्यूटका आधारमा रकम हिनामिना गरिएको रहेछ।’

वडा सदस्य विष्टले आयोमेलसँगको टेलिफोन कुराकानीमा भने, ‘हाम्रो वडाअन्र्तगत रहेको पिपल रुखदेखि ठाँटीकोटसम्म क्रंक्रिट बाटो निर्माणमा आठ लाख, जुकेखोलादेखि गौतेखालसम्म खानेपानी योजना मर्मतमा तीन लाख र वडा कार्यालयका लागि भनी सवारीसाधन खरिदमा चार लाख रुपैयाँको किर्ते माइन्यूट बनाइएको रहेछ।’

आर्थिक वर्षको अन्तिम महिनामा यी कार्यक्रमहरूका लागि रकम विनियोजन भएको थियो। असारको १५ गते यी तीन शीर्षकमा योजना छनोट गरिएको हो।

माइन्यूटको अन्त्यमा वडाध्यक्ष लोगे विष्ट र वडा सचिव विष्णुराज बुढाले हस्ताक्षर गरी निर्णय बन्द गरिएको छ । वडा सदस्य विष्टले भने, ‘माइन्यूटको उपस्थितिमा मेरो पनि हस्ताक्षर रहेछ । तर म उक्त योजना छनोटका समयमा उपस्थित भएको थिइनँ।’

वडाध्यक्ष लोगे विष्ट र वडा सचिव विष्णुराज बुढाको मिलेमतोमा उक्त रकम हिनामिना गर्न खोजिएको वडा सदस्य विष्टको आरोप छ । उनले भने, ‘म लगायत अन्य चारजना वडा सदस्य पनि बैठकमा सहभागी भएका थिएनौं । वडावासीहरू पनि बैठकमा सहभागी भएको कुनै जानकारी छैन।’

यता वडाध्यक्ष लोगे विष्टले माइन्यूट किर्ते भएको स्वीकार्दै वडा सचिवले माइन्यूट किर्ते गरेको जनाएका छन् । उनले भने, ‘यसबारेमा मलाई पनि जानकारी छैन । वडा सचिवले किर्ते गरे होलान् । मलाई यसबारेमा भर्खरै मात्र थाह भएको हो।’

यस घटनाबारे वडा सदस्यहरूले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

२०७७ श्रावण ८, बिहीबार १०:२६
सुर्खेत-प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ। गृहमन्त्रालयले कोभिड-१९ को संक्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.