सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडा बर्हिगमनमा पर्नुभयो । राजनीतिमा वामदेवको ‘इन’ र खतिवडाको ‘एक्जिट’ लाई व्यक्ति परिवर्तनको स्वभाविक प्रक्रिया मान्न सकिन्छ । बिज्ञबाट राजनीतितिर मोडिएका इमान्दार व्यक्तिविरुद्ध यति ठूलो आन्तरिक शक्तिको प्रयोग नगरेको भए चाँही हुन्थ्यो ।

भदौ १९ अपरान्हको मन्त्रिपरिषद् वैठकमा प्रधानमन्त्रीले खतिवडालाई महत्वपूर्ण जिम्मेवारी सफलतासाथ पुरा गरेकोमा धन्यवाद दिनुभयो । लगत्तै अर्थ र संचार मन्त्रालय पुगेर आफूले गरेका मुख्य कामको फेहरिस्त सावर्जनिक गर्दै उहाँ विदा हुुनुभयो ।

गोपाल खनाल 

सत्ता बर्हिगमनसँगै खतिवडाको समिक्षा भइरहेको छ भने भावी अर्थमन्त्रीका चूनौतीको सूची पनि तयार पारिदैंछ । यो पनि स्वभाविक हो । तर आर्थिक सूचकांकलाई नहेरी, तथ्यलाई नराखी जसरी एकोहोरो ढंगबाट खतिवडालाई ‘असफल’ प्रमाणित गर्न खोजिदैंछ, त्यो सत्तारुढ पार्टीका लागि आत्मघाती छ ।विपक्षीको राजनीतिक धर्मलाई सत्य मानी, दलाल, बिचौलिया र व्यापारीको स्वार्थलाई यर्थाथ ठानी योजनावद्ध रुपमा उहाँविरुद्ध गरिएका आक्रमण घातक छन् ।

सफल गभर्नर र सफल योजनाविद्को पहिचानले खतिवडालाई सम्भवत उहाँ आफैंका लागि अनपेक्षित महत्वपूर्ण राजनीतिक पदमा पुर्याएको थियो । राजनीतिक महत्वकाँक्षा नरहेको, व्यक्तिगत लाभहानीप्रति रुची नभएको र इमान्दारीपूर्वक देश र जनताको सेवा गर्ने सोच भएका खतिवडा सिंहदरवार प्रवेश गर्दा र वाहिरिदा पनि प्रशंसाका पात्र बन्नुभयो ।पूर्वाग्रहीको आवाज बलियो हुनुचाँही बिडम्बना हो ।

विकासको छनौट
पार्टीभित्रका नेताहरुको दावी हुँदा पनि प्रधानमन्त्री ओलीले किन खतिवडालाई नै अर्थमन्त्री बनाउनु भयो ? पार्टीभित्रका अनुभवी र तुलनात्मक सकारात्मक छबी भएका नेतालाई छाडेर खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनु एक प्रकारले राजनीतिक जोखिम पनि थियो । त्यसमा पनि भावनात्मक एकता नभइसकेको,  एकअर्काप्रति बिश्वास कायम हुन नसकेको र जनताको अतिरिक्त अपेक्षा भएको अवस्थामा झनै खतरा थियो ।

तर यो प्रधानमन्त्री ओलीको विकासको सोचसँग जोडिन्छ । विकसित नेपालको ओली कल्पनालाई यथार्थमा रुपान्तरण गर्ने मुख्य पात्रका रुपमा खतिवडा उहाँको छनौटमा पर्नुभयो । विकास र समुन्नतीका लागि राजनीतिको सिमित घेराभन्दा अलि पर हेर्ने ओलीको दुरदृष्टिको परिणाम थियो – खतिवडाको आश्चर्यजनक राजनीतिक प्रवेश ।’ राजनीतिमा आफूप्रति विश्वास भएको र जोखिम उठाउन सक्ने नेताले मात्र यस्तो निर्णय लिनसक्छ ।

इतिहासमै शक्तिशाली दुइतिहाइ शक्तिको कम्युनिष्ट सरकारको गठन र संविधानमै उल्लेखित समाजवादउन्मुख अर्थव्यवस्था र राज्य प्रणाली । ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को लक्ष्य । एउटा ऐतिहासिक अवसर नेपालका सामु थियो÷छ । त्यही भएर उहाँले अर्थतन्त्र बुझेको, देशविदेशका आर्थिक नीति र विकाससँग साक्षात्कार भएको र लगानी भित्र्याउन सक्ने दाताहरुसँगसमेत सम्वन्ध राम्रो भएको ‘टेक्नोक्रेट’ लाई अर्थमन्त्री बनाउनुभयो ।पहिलो नौमहिने कार्यकालमा प्रतिकूल घरेलु र बाह्य अवस्थासँग जुध्दै मुर्छित सपना ब्युँताउन सफल प्रधानमन्त्री ओली व्युँतिएका सपनालाई ‘एक्सन’ मार्फत यर्थाथ बनाउन चाहनुहुन्थ्यो ।त्यसका लागि उहाँले खतिवडालाई उपयुक्त ठान्नुभयो ।

देश विकासका प्राथमिकतामा बजेट केन्द्रित गर्न र आर्थिक अनुशासन कायम राख्न खतिवडा अरुभन्दा उपयुक्त हुनुहुन्थ्यो, हुनुभयो । नेपालमा प्राय हरेक सरकारका बजेटमाथि सकारात्मक कम र नकारात्मक बढी टिप्पणी हुन्छ  । खतिवडाकातीन बजेटमाथिका टिप्पणी बढी सकारात्मक छन् । बिज्ञ, विपक्षी दलसँग जोडिएका अर्थशास्त्रीदेखि नेपाल उद्योग बाणिज्य महासंघसम्मले ती बजेटको खुलेर प्रशंसा गरेका थिए । रोजगारी सृजना गर्ने खालका उत्पादक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै शेयर बजार र घरजग्गा कारोवारलाई अनुपात्दक क्षेत्र भनिरहँदा दुरुत्साहित गर्न खोजिएको थिएन, बरु तुलनामात्र गर्न खोजिएको थियो ।तर प्रचार फरक कोणबाट भयो ।

खतिवडाको मन्त्रिपरिषद् प्रवेशप्रधानमन्त्री ओलीको विकासको सोचसँग जोडिन्छ । विकसित नेपालको ओली कल्पनालाई यथार्थमा रुपान्तरण गर्ने मुख्य पात्रका रुपमा खतिवडा उहाँको छनौटमा पर्नुभयो । विकास र समुन्नतीका लागि राजनीतिको सिमित घेराभन्दा अलि पर हेर्ने ओलीको दुरदृष्टिको परिणाम थियो यो । नौमहिने कार्यकालमा प्रतिकूल घरेलु र बाह्य अवस्थासँग जुध्दै मुर्छित सपना ब्युँताउन सफल प्रधानमन्त्री ओली व्युँतिएका सपनालाई ‘एक्सन’ मार्फत यर्थाथ बनाउन चाहनुहुन्थ्यो । त्यसका लागि उहाँले खतिवडालाई उपयुक्त ठान्नुभयो ।

पार्टी राजनीतिमा नलागि एकाएक आएर महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै पार्टीभित्रबाट उहाँको बिरोध भइरहेकै बेला सबै स्वार्थी समुहको निशानामा पर्नुभयो । खतिवडाको चर्को विरोधीमा दलाल, बिचौलिया, व्यापारी र उहाँकै पार्टीका नेता, सांसदहरु देखिनुभयो ।ओलीबिरुद्ध चलाइएको एउटा भूमिगत प्रचारको निशानाको अघिल्तिर खतिवडा पर्नुभयो । आखिर राजनीति र समाज एउटा सम्झौताबाट नै निर्देशित हुन्छ । पार्टीभित्रका नेताहरुको व्यवस्थापन वा उदीयमान ‘इगो’हरुको प्रवन्धका लागि उहाँ समाधान बनिदिनुभयो ।

त्यसको अर्थ खतिवडा विकल्पहिन हुनुहुन्नथ्यो, उहाँविना देशको अर्थतन्त्र चल्दैन भन्ने होइन । पार्टीमा सक्रिय राजनीतिक अनुभव भएकाहरुले उहाँभन्दा राम्रो कार्यसंपादन पनि गर्न सक्नुहुन्छ । अर्थतन्त्रबारे औपचारिक शैक्षिक योग्यता नभएकाहरुले पनि विगतमा मन्त्रालय चलाउनुभएकै थियो । तर यति हो, एउटालाईपूर्वाग्रहराखी ‘भिलेन’ का रुपमा प्रस्तुत गरेर ‘हिरो‘ बन्छु भन्नेका लागि महामारी अर्थतन्त्र ठूलो अवरोध हुनसक्छ, जो सामान्य क्षमताबाट छिचोल्न सम्भव छैन ।

सफल कार्यकाल  
चरम पूर्वाग्रह राख्दासम्म र अति राजनीतिक समाज रहँदासम्म सरकार सफल वा असफल, कुनै अमुक मन्त्री सफल वा असफल भन्ने मुल्याकंनमा सर्वसम्मत निश्कर्ष निकाल्न सकिदैंन ।सत्य त आफ्नै होला तर तथ्य नै तोडमोड हुन्छ यहाँ । परिणाममै देखिने गरी कति उपलब्धी हासिल भयो, त्यो महत्वपूर्ण पाटो हो तर असल नियतका लागि, व्यक्तिगत स्वार्थ नहेरी आर्थिक आधारशिला खडा गर्ने तर्फ महत्वपूर्ण आरम्भ भने भयो ।

पहिलायी चार सांकेतिक सूचक हेरौं । 
पहिलो, आयातमा कमी र निर्यातमा बृद्धि । परिणामस्वरुपव्यापार घाटा कम भएको छ । ०७४÷७५ मा व्यापार घाटा कुल ग्रार्हस्थ उत्पादनको ३८ प्रतिशत रहेकोमा ०७५/७६ मा ३८ प्रतिशत भयो भने ०७६÷७७ मा २९ प्रतिशतमा सिमित रहन पुग्यो । यसले गर्दा चालु खाता घाटा, भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा सुधार भयो । यो सकारात्मक प्रारम्भ हो ।

दोश्रो, यो सरकार गठनपछि आर्थिक बृद्धिदर सकारात्मक छ । २०७४/७५ मा ४.६ प्रतिशत आर्थिक बृद्धिदर रहेकोमा २०७५/७६ मा ७ प्रतिशत रह्यो । कोभिड महामारीका वावजुद २०७६/७७ को आर्थिक बृद्धि २.३ प्रतिशतमा रह्यो । जवकि बिश्वका १७० देशको आर्थिक बृद्धि नकरात्मक हुने प्रक्षेपण अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को छ ।

तेश्रो, विदेशी सहायता प्रतिबद्धता बढ्दो छ । खतिवडा अर्थमन्त्री भएपछि अन्तराष्ट्रिय विकास साझेदारबाट १६८ अर्वको बजेटरी सहायतासहित कुल ५ खर्बको विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ । बिश्वबैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एडीबी लगायत अन्तराष्ट्रिय दातृ र नियमनकारी निकायले नेपालको अर्थतन्त्र र वित्तिय प्रणाली सुदृढ रहेको बताएका छन् ।यसको अर्थ सरकारप्रतिको अन्तराष्ट्रिय विश्वास बढ्यो ।

चौथो, मुद्रास्फिती नियन्त्रणमा रह्यो । सरकार गठनअघिको मुद्रास्फिती एक दशकको औसत ९ प्रतिशत रहकोमा सरकार गठनपछिको तीन बर्षमा औसत ५ प्रतिशत तल सिमित रहेको छ ।नेपालको मुल समस्या मुद्रास्फिती पनि हो, यो नियन्त्रण भयो ।

प्रधानमन्त्री ओलीले भनेजस्तै सरकारको पहिलो बर्ष आधार बर्ष र दोश्रो बर्ष प्रस्थान बर्षका रुपमा रह्यो । आर्थिक र भौतिक पूर्वाधारका लागि आधारशिला खडा गर्ने काम भयो, तीनलाई अघि बढाउने काम पनि भयो र महामारीले प्रभाव पारेपनि अव ती सम्पन्न हुने चरणतर्फ उन्मुख छन् । चौतर्फी आक्रमणका वावजुद खतिवडाले क्षमताले भ्याएसम्म आर्थिक जग बलियो बनाउने प्रयास गर्नुभयो । कार्यशैली व्यक्तिगत हुन्छन्, कसैलाई मन पर्न वा नपर्न सक्छन् । टेक्नोक्रेटहरुको परामर्शको दायरा सिमित नै हुन्छ ।

बिधिविरुद्ध व्यक्ति 
सबैभन्दा उपयुक्त प्रतिनिधिसभामा पराजित भएकाहरुले अर्को निर्वाचनसम्म पर्खेको भए हुन्थ्यो र त्यसले सकारात्मक सन्देश प्रवाहित हुन्थ्यो । नेतृत्वको माथिल्लो तहमै पुगेका नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा प्रवेश गरेपछि अहिले वामदेव गौतम प्रवेश गर्दै हुनुहुन्छ ।व्यक्तिका रुपमा वामदेव र नारायणकाजी राष्ट्रियसभामा रहँदा त्यसको गरिमा बढ्छनै किनकी यो उचाइका नेताको त्यहाँ कमी छ ।  तर टिप्पणी गर्नेहरुले इतिहासमा लेखिरहन्छन्– ‘प्रतिनिधिसभा हारेपछि राष्ट्रियसभामा जानेहरु वामदेव र नारायणकाजी भनेर ।’ उहाँहरु सांसद बन्दा विरोध गरिहाल्नु पर्ने केही छैन किनकी सांसदको यो रसायनमा तात्विक फरक पर्दैन । तर विधि र पद्धतीको ‘कस्मेटिक’ नारा पदसँगको बार्गेनिङ हो भन्ने प्रमाणित नगर्दा उहाँहरुकै लागि उचित हुन्थ्यो ।

राष्ट्रियसभा प्रवेशसँगै दुबैजना मन्त्री बन्नुहुन्छ वा हुन्न, यो पनि विवादित रुपमा वहसमा छ । मन्त्रिपरिषद् पुर्नगठन वा हेरफेर प्रधानमन्त्रीको बिशेषाधिकार हो । त्यसमा दुई अध्यक्षबीच परामर्श हुन्छनै । पार्टी कार्यदलले समेत सहमतिको टुंगो लगाएको अवस्थामा त्यसको भावना पुर्नगठनमा सन्निहित हुँदा उपयुक्त हुन्छ । दुर्घटनाउन्मुख पार्टीलाई ६ बुँदे प्रस्ताव ल्याएर त्यसकै वरिपरी समाधान खोज्न निर्देश गर्ने वामदेवको महत्व बढेको पनि देखिदैंछ ।

मन्त्रिपरिषद हेरफेरको तयारी हुन थाल्दा नेताहरुकामा बिभिन्न माध्यमबाट दवाव दिने प्रवृति पुरानै हो । त्यतिमात्र होइन, साटफेरको सन्देश बाहिर दिने तर आन्तरिक रुपमा गृहकार्य बाँकी रहँदा कर्मचारीतन्त्रले राजनीतिक नेतृत्व र मन्त्रीलाई नटेर्ने प्रवृति छ । त्यही बुझ्नुभएका प्रधानमन्त्री ओलीले शुक्रबार सबै मन्त्रीलाई आत्माविश्वासका निरन्तर काममा लाग्न निर्देशन दिनुभयो । ‘स्टेटम्यानसिप’ को चरित्र यही हो कि उ संकटमा अत्तालिदैंन र सफलतामा मात्तिदैंन ।

चक्रपथ अनलाइनबाट