सिन्धुपाल्चोक — डेढ महिनादेखि ठप्प उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् ।
तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो । नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘तत्काल आयात मात्रै हुनेछ, यहाँबाट दर्जनौं कन्टेनर सामग्री लिन सोमबार खासा जाँदै छन्,’ उनले भने । चिनियाँ पक्ष आइतबार बेलुकी मितेरी पुलमा सामान ‘अनलोड’ गरेर फर्किएको उनले सुनाए । ती सामान लिन ११ वटा कन्टेनर मितेरी पुल पुगेका थिए । भन्सार जाँचपासको प्रक्रिया सकिएपछि सबै सामग्री काठमाडौं पठाइने खत्रीले बताए ।